
हिमालय
असार २८,पोखरा । सात तालको बाटिका सहर लेखनाथमा रहेका तालहरुले यतिकै आन्तकि तथा विदेशी पर्यटकहरुको मन जित्न सफल छन् । पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । सरकारले लगाएको लकडाउनको करिब ४ महिना बिति सक्दा बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ ।
पोखरा २७ तालचोकबाट करिब ७ कि.मी. को दुरीमा रहेका यि झरना दूरीका हिसाबले करिब ६० देखि ७० मिटरको फरकमा समानान्तर जस्तै बनेर झरेका झरना विगतमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्नुका साथै प्रचारप्रसारकै अभावमा ओझेलमा परेका हुन् । सुगमस्थान एवं प्रचुर सम्भावना रहेर पनि झरना पछि परेको अवस्थालाई दृष्टिगत गर्दै पछिल्लो समयमा यसको संरक्षणका साथै पर्यटकीयरुपमा उपयोग गर्न स्थानीयले जागरुकता देखाएका छन् ।
झरनामध्ये रोलाखोला झरना ६० मिटर उचाइको छ भनेसँगैको अर्को ढोडेनीखोला झरना ४५ देखि ५० मिटर उचाइमा छ । पछिल्लो समयमा यहाँका दुईवटै झरनामा साहसिक खेल क्यानोनिङ सञ्चालन गरिएको छ । जेठ महिनादेखि मङ्सिरसम्म झरनामा पर्याप्त पानी हुने भए पनि बाँकी महिना भने पानीको मात्रा कम हुने गरेको छ । दुईवटै खोलाबाट पाइप विस्तार गरी खानेपानीको व्यवस्था गरेपछि झरनामा पानी घटेको हो । खानेपानीको अन्य विकल्प सोच्ने हो भने १२ महिना नै झरना देख्न सकिने सम्भावना छ ।
बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म विशेषतः युवावर्गको घुइँचो लाग्ने गरेको बताउँदै उहाँले झरनालाई स्थानीयवासीको आयआर्जनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । क्यानोनिङ सञ्चालक रोशन त्रिपाठीका अनुसार यतिखेर झरनामा आन्तरिक पर्यटकको आकर्षण बढे पनि साहसिक खेल क्यानोनिङ गर्नेको सङ्ख्या भने बढ्न सकेको छैन ।
उनका अनुसार संस्थाले क्यानोनिङका लागि नेपालीलाई प्रतिव्यक्ति रु एक हजार ५०० एवं बाह्य पर्यटकको हकमा भने प्रतिव्यक्ति ७० डलर निर्धारण गरेको छ । पाँच जनाको समूहमा आएमा जनही ६० डलर र त्योभन्दामाथिको सङ्ख्यामा एक जना बराबर ५० डलर शुल्क लिने व्यवस्था गरिएको छ । झरनामा क्यानोनिङका लागि आवश्यक पूर्वाधार निर्माणमा छ लाख रुपैयाँ खर्च भएको उनले बताए ।
कम्पनीले सो स्थानमा पुग्ने पर्यटकको सुविधाका लागि दुवै झरनाको बीचभागमा करिब ५० जना दर्शकलाई ओत बस्ने ट्रष्ट भवन, चेञ्जिङरुम र शौचालय निर्माण गर्ने तयारी गरिरहेको उनको भनाइ छ । पोखरा अर्घौका २१ वर्षीय प्रदीप अधिकारीले रोला झरनाको क्यानोनिङ अन्यत्रकोभन्दा सुरक्षित र आनन्ददायी भएको अनुभव सुनाए ।
गर्मी मौसममा चिसोपानीसहितको झरनामा डोरीको सहायताले ६५ मिटरको उचाइबाट झर्दा छुट्टै आनन्दको महसुस भएको उनले बताए । प्रचारप्रसारको अभावका साथै पूर्वाधार विकास हुन नसकेका अवस्थमा पनि झरनामा आउनेको सङ्ख्यामा दिनानुदिन वृद्धि भएको स्थानीय राधाकृष्ण भूर्तेल बताउँछन् । पृथ्वीराजमार्गको तालचोकदेखि वेगनासताल खण्डकको शिशुवा तथा मोहोरीयाबाट लामास्वारा, स्याखुदीबाट बाँस्तोला गाउँको नेटा हुँदै उक्त झरनासम्म पुग्न सकिन्छ । बाटोमा पोखराको तालमध्येको दोस्रो ठूलो वेगनासताललाई विभिन्न आकारमा देख्न सकिन्छ भने आसपासका अन्य ताललाई पनि नजिकबाट नियाल्न सकिन्छ ।
No comments:
Post a Comment